दुई सय ५१ दिनपछि एमालेकाे चेत खुल्याे, बजेट अधिवेशन सुचारु

प्रमुख प्रतिपक्षी एमालेले अवरोध गर्दै आएको प्रतिनिधिसभा दुई सय ५१ दिनपछि सहज रूपमा सञ्चालन भएको छ । २३ भदौ ०७८ देखि निरन्तर अवरोध गर्दै आएको एमालेले संसदीय कामकारबाहीमा सहभागिता जनाएको छ । मंगलबारदेखि सुरु भएको संसद्को ११औँ अधिवेशनको पहिलो बैठकमा एमालेले अवरोध गरेन ।

कानुन निर्माणमा अवरोध गरेको, तर तलबभत्ता बुझेको भन्दै आलोचना भइरहेका वेला एमालेले बजेट अधिवेशनमा अवरोध हटाएको हो ।११औँँ अधिवेशनको बैठक सुरु हुनेबित्तिकै एमालेका तर्फबाट सांसद प्रदीप ज्ञवालीले अवरोध फिर्ता लिएको जानकारी गराएका थिए । ज्ञवालीले भने, ‘यसबारे हाम्रा अडान निरन्तर रहनेछन् । तैपनि मुलुक एउटा कोर्समा गइसकेको हुनाले हामीले आजदेखि यो अवरोधलाई फरक ढंगले प्रस्तुत गर्ने निर्णय गरेका छौँ ।’

यसबीचमा संसद् सञ्चालन गराउन प्रधानमन्त्री, सभामुख र पाँचदलीय गठबन्धनका नेताहरूले कोसिस गरे पनि एमाले आफ्नो अडानमा थियो । यति मात्र होइन, प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोट पुगेर संसद् अवरोध हटाउन अनुरोध गर्दा पनि एमालेले टसमस भएको थिएन । नौ महिनापछि उसले आफ्नो अडानमा पुनर्विचार गरेको छ । चालू अधिवेशनमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने भएकाले अवरोध कायमै राख्न एमालेलाई असहज भएको थियो । सोही कारण उसले बजेट अधिवेशनको पहिलो बैठकबाटै संसद् सुचारु हुन दिएको हो ।

नौ महिनासम्म संसद् अवरोध गरेर अवसर गुमाएको एमालेले सकारात्मक निर्णय लिएको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् । ‘संसद्मा एमालेले ठूलो अवसर गुमायो । अवरोध गर्नुपर्ने कुरै थिएन, ऊ चुक्यो । तर, बजेट अधिवेशनमा आफ्नो भूमिका निर्वाह गर्ने भनेर सभा सञ्चालन गर्न दियो, यो सकारात्मक हो,’ उनले भनिन् । माओवादीका प्रमुख सचेतक देव गुरुङले लामो समयसम्म एमालेले संसद् अवरोध गरिदिँदा महत्वपूर्ण काम छुटेको र ढिलै भए पनि सही निर्णय लिएको प्रतिक्रिया दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.