डडेल्धुराकाे आलिताल गापा अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित भएका हुन्।

कांग्रेसका बलबहादुर गुरुङलाई हराउँदै अध्यक्षमा पार्की र कांगेसकै जलाकुमारी विष्ट (बोगटी)लाई पछि पार्दै मैना उपाध्यक्षमा विजयी भइन्। अध्यक्षमा निर्वाचित पार्कीले २३ सय ८९ मत ल्याए। उनका प्रतिद्वन्द्वी गुरुङले २२ सय २४ मत पाए। पार्कीले गुरुङलाई १ सय ६५ मत बढी ल्याएर हराएका हुन्।उपाध्यक्षमा विजयी रावलले २६ सय २ मत प्राप्त गरिन्। कांग्रेसकी बोगटीले २२ सय ४१ मत ल्याइन्। यी दुईबीचको मतान्तर ३ सय ६१ रह्यो।

यस्तै, एमालेबाट अध्यक्ष पदका उम्मेदवार मीनबहादुर बोगटीले १४५९, नेकपा एकीकृत समाजवादीका तुलाराम बोहराले ६०१, स्वतन्त्र उम्मेदवार टेकबहादुर खड्काले २५७ र राप्रपाका जितबहादुर थापामगर ३४ मत ल्याए।२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाटै पालिका अध्यक्षमा गुरुङ २ हजार २६१ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर पार्कीले २ हजार ९८ मत पाएका थिए।

गुरुङले जगतलाई १ सय ६३ मतले हराएका थिए। अहिले जगतकै ‘सहोदर भाइ’ शेरले गुरुङसँग हारको बदला लिएका छन्। यसअघि पालिका उपाध्यक्षमा जला २२ सय ४२ मत विजयी भएकी थिइन्। त्यतिबेला उपाध्यक्षमा माओवादीकी शुशीलादेवी खत्रीले १९ सय ९४ मत ल्याएर पराजित भएकी थिइन्। आलितालमा माओवादी केन्द्र र एमाले समान ३/३ र कांग्रेस २ वडामा विजयी भएकाे छ।

आलिताल–१ मा नेकपा एमालेका यज्ञबहादुर देउवा, २ मा नेपाली कांग्रेसका प्रमोद मल्ल, ३ मा माओवादीका बलबहादुर बुढा, ४ मा एमालेका कमलसिंह बोहरा, ५ मा माओवादीका डम्बरबहादुर ढाँट, ६ मा एमालेका कुम्भर बुढा, ७ मा माओवादीका वीरबहादुर बोहरा र ८ नम्बर वडामा कांग्रेसका धनबहादुर देउवा विजयी भएका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.