काठमाण्डाैं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन शनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठ १ बाट लागू हुने गरी सातामा शनिबार र आइतबार विदा हुने जानकारी दिए । योसँगै कार्यालय समय पनि फेरिने भएको छ। अब सोमबारदेखि शुक्रबारसम्म सातामा पाँचै दिन बिहान साढे ९ देखि बेलुका साढ ५ सम्म कार्यालय समय तोकिएको प्रवक्ता कार्कीले जानकारी दिए।
सरकारी उच्च स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएपछि र नेपालको विदेशी मुद्रा सञ्चितिमा गिरावट आएपछि सातामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा करिब एक महिनाअघि नै भएको थियो । एक महिना अघिको मन्त्रिपरिषद् बैठकमा सामान्य छलफल भए पनि त्यसमा सबैको सहमति नजुटेपछि निर्णय हुन सकेको थिएन ।
दुई दिन बिदा दिँदा इन्धनको खपत कम हुने सरकारी उच्च अधिकारीको दाबी छ । हालका लागि यो परीक्षणका रूपमा मात्र लागू गरिएको छ।