धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले केही महिनाअघि गठन गरेकाे प्रदेश युवा परिषद्ले भाेलिका कर्णधार युवालाई विज्ञानसँग जोड्न र रचनात्मक तथा वैज्ञानिक क्रियाकलापमा जोड्दै उनीहरुको कला तथा सिप प्रर्दशनका लागि विभिन्न क्रियाकलापहरु गर्दैआएकाे छ । यसैक्रममा आज धनगढीमा सुदूरपश्चिममै पहिलोपटक प्रदेशस्तरीय युवा वैज्ञानिक सम्मेलन गरेको छ।
आज (आईतबार) धनगढीस्थित रिद्दीसिद्दी प्यालेसमा उक्त सम्मेलन गरिएको हो। युवा परिषद्ले सुदूरपश्चिम प्रदेशभरका युवालाई विज्ञानसँग जोड्न र रचनात्मक तथा वैज्ञानिक क्रियाकलापमा जोड्दै उनीहरुको कला तथा सिप प्रर्दशनका लागि सम्मेलन आयोजना गरेको जनाएको छ। सम्मेलनमा विभिन्न फरक फरक खालका उपकरण तथा साधनहरु प्रर्दशन गरिएको र विद्यार्थीहरुलाइ त्यसमा प्रोत्साहन समेत गरिने बताइएको छ। सम्मेलनमा विद्यार्थीहरुले नै निर्माण गरेका स्मार्ट सिटी नमूना, विद्युततीय कार, बस, ड्रोन लगायतका उपकरणरुको प्रर्दशनी गरिएको थियो।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्का, युवा परिषद्का पदाधिकारी लगायत कर्मचारीहरुले ती विभिन्न उपकरणहरुको अवलोकन गरेका थिए। यस्तै मन्त्री खड्काले कार्यक्रममा बोल्दै अब सुदूरपश्चिम सरकारले शिक्षा क्षेत्र र प्रणालीलाई सुदूरपश्चिम अनुकूल र वैज्ञानिक बनाउन छलफल गरिरहेको बताएका थिए।
सुदूरपश्चिम सरकारले प्रदेशमा प्राविधिक व्यवसायिक शिक्षाको अवधारणा समेत ल्याउने उनको दाबी थियो। सुदूरपश्चिममा अब प्राविधिक विश्वविद्यालय बनाउने तयारीमा प्रदेश सरकार रहेको उनको भनाइ थियो।