माओवादी फुट्ने सङ्केतपछि नारायणकाजीलाई फकाउन प्रचण्ड घरमै पुगे

व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने पार्टी लाइनको विपक्षमा रहेका नारायणकाजी श्रेष्ठसहित पूर्वएकताकेन्द्र समूहका नेताहरूले माओवादी पार्टीबाट विद्रोह गर्न सक्ने सम्भावना बढेपछि अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित नारायणकाजीको निवासमा पुगेका छन् ।

‘सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पार्टी छाडेर गए हुन्छ भन्ने रुखो अभिव्यक्तिपछि पूर्वएकताकेन्द्रका नेताहरूले चित्त दुखाएका छन्,’ श्रेष्ठनिकट पूर्व एकता केन्द्रका एक नेतालाई उद्रित गर्दै रातोपाटीले समाचार लेखेकाे छ । ‘कमरेड नारायणकाजीलाई अपमान सहेर प्रचण्डसँग बस्न सकिन्न भन्दै पूर्वसमूहका नेताहरूले दबाव दिइरहेका छन् । यही कुरो थाहा पाएर आज प्रचण्ड नारायणकाजीलाई भेट्न हात्तीवन जानुभएको हो ।’

नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल लगायतले पार्टीको बैठकमा असहमति जनाएका थिए । पूर्वएकताकेन्द्रका नेताहरूले जस्तै कृष्णबहादुर महरा, राम कार्की लगायतले पनि एमसीसी अनुमोदनको विरोध गरेका थिए । एमसीसीको विरोध गर्दै आएका देव गुरुङले भने पार्टी लाइनलाई समर्थन गरेको सोमबारको पत्रकार सम्मेलनमा बताए ।

युवा नेता लेखनाथ न्यौपानेले एमसीसी पारित गर्ने निर्णय अवैधानिक भएको र प्रचण्डको मात्रै निर्णय भएको बताएका छन् । अर्का केन्द्रीय सदस्य जीवन गौतमले पनि एमसीसी पारित गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । पूर्वएकताकेन्द्रका नेताहरूले माओवादीबाट विद्रोह गरेर अलग्गै पार्टी बनाउन श्रेष्ठमाथि दबाव दिइरहेको स्रोतले बतायो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.