एमसीसीविरुद्धको ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आज काठमाण्डौ उपत्यकासहित देशभर प्रदर्शन गर्ने भएको छ।मोर्चाले आज माइतीघर मण्डलाबाट विरोध प्रदर्शन सहित नयाँ बानेश्वर पुगेर संसद भवन घेराउ गर्ने कार्यक्रम तय गरेको छ।
यस्तै देशव्यापी रूपमा सबै जिल्लामा व्यापक विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने मोर्चाले घोषणा गरेको छ।मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गरी देशव्यापी विरोध प्रदर्शन कार्यक्रम घोषणा गरेका हुन्।
‘एमसीसी जुनसुकै मूल्यमा खारेज गरी राष्ट्रिय स्वाधिनताको रक्षाको सवालमा आफूलाई आन्दोलित गरिरहेका नेपाली जनताका अगाडि जनसंघर्षको कार्यक्रमलाई उच्चता र व्यापकता प्रदान गर्नु आफ्नो कर्तव्य हुन आएको छ’, ६ दल र २ मोर्चाले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।