‘एमसिसी परिमार्जनविना पारित गर्नुहुँदैन भन्नेमा माओवादी केन्द्र दृढछ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एमसिसी परिमार्जनविना पारित गर्नुहुँदैन भन्नेमा पार्टी दृढ रहेको स्पष्ट पारेको छ । प्रचण्डको सचिवालयले आइतबार प्रेस नोट जारी गर्दै एमसिसी मुख्यालयलाई लेखिएको पत्र र त्यसबारे राजनीतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

देश र जनताको हितलाई  सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएको प्रचण्डको सचिवालयले बताएको छ । सचिवालयले नियोजित प्रचारबाजीको भ्रममा नपर्न सम्पूर्ण पार्टीपंक्ति र न्यायप्रेमी जनसमुदायमा अपिलसमेत गरेको छ ।

प्रचण्डको सचिवालयको प्रेस नोट जस्ताको तस्तै–
२९ सेप्टेम्बर २०२१ मा एमसिसी मुख्यालयलाई प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनीतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसिसी पारित गर्नैपर्ने दबाब भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो ।

र, पत्रमा एमसिसीका लागि राष्ट्रिय सहमति आवश्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केही समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको हो ।देशमा एकातिर एमसिसीबारे राजनीतिक वृत्त, बुद्धिजीवी, प्रेसदेखि जनस्तरसम्म विरोध र दबाबको अवस्था विद्यमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले एमसिसीबारे गठन गरेको कार्यदलले यसलाई ‘परिमार्जनविना पारित गर्न नसकिने’ निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन ।

यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनीतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र अनावश्यक रूपमा उछाल्नुको कुनै अर्थ छैन । हामीले देश र जनताको हितलाई  सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौँ । यो परियोजना परिमार्जनविना पारित गर्नुहुँदैन भन्नेमा हाम्रो पार्टी दृढ छ । यसबारे गरिएका नियोजित प्रचारबाजीको भ्रममा नपर्न सम्पूर्ण पार्टीपंक्ति र न्यायप्रेमी जनसमुदायमा हामी हार्दिक अपिल गर्दछौँ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.