सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनद्वारा क्लिन स्वीप

धनगढी । सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवारलाई पराजित गरी गठबन्धन दल नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका उम्मेदवार राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन ।

सत्ता गठबन्धनका तर्फबाट खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका हुन् । खुल्लाबाट कैलालीका मिश्र १४३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मत मात्रै प्राप्त गरेका छन्।

यस्तै सत्ता गठबन्धनकै माओवादी केन्द्रका जगत पार्कीले पनि १४४ मत ल्याएर निर्वाचित भएका हुन्। उनी सत्ता गठबन्धनबाट दलिततर्फको उम्मेदवार हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश बिकले ७९ मत मात्रै प्राप्त गरेका छन्। यस्तै महिलातर्फकी एकीकृत समाजवादीकी शाहले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०९ मत ल्याइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरिन्।

महिलातर्फ प्रदेशसभातर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भए। सुदूरपश्चिबाट तीन सदस्य चुन्नका लागि निर्वाचन भएको थियो। बुधबार बिहान ९ बजेबाट प्रदेश सभामा मतदान भएको थियो। मतदानमा ५२ प्रदेशसभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधि गरी २२७ मतदाता सहभागी भएका थिए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.