लाखौँ रकम सहित एकजना भारतीय धनगढीमा पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले श्रोत नखुलेको लाखौँ रकम सहित एक जना भारतीयलाई नियन्त्रणमा लिएको छ ।बुधवार साँझ कैलालीको धनगढीबाट भारतको पलिया तर्फ जाँदै गरेका भारतको लखिमपुर खिरी ग्राम पञ्चायत पलिया थाना सिलैया बस्ने २७ वर्षीय नीरज कुमार राजपूतलाई नेपाली १८ लाख २७ हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

प्रहरीले शङ्कास्पद अवस्थामा देखेपछि चेकजाँच गर्दा उक्त परिणामको रकम फेला पारेको प्रवक्ता जोशीले बताए । उनले पक्राउ परेका राजपूतले उक्त रकमको श्रोत बताउन नसकेपछि नियन्त्रणमा लिएको बताए ।नियन्त्रणमा लिइएको राजपूतलाई आवश्यक अनुसन्धानका लागि राजश्व कार्यालय कोहलपुर पठाइने जोशीले बताए ।

नियन्त्रणमा रहेका भारतीयले धनगढीका विभिन्न व्यापारीबाट समान दिए बापत जम्मा गरेको रकम लिएर जाँदै गरेको अवस्थामा पक्राउ परेको श्रोतले जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.