माओवादीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्बाङ (मिक्सो) विजयी
नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन्। नेम्बाङले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्सामहाङ सुब्बा लिम्बु (मुकेश)ले ६४ मत मात्रै पाए।नवनिर्वाचित अध्यक्ष नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुन् ।
निर्वाचन समितिका संयोजक राजेन्द्र किराँतीका अनुसार तीन जना उपाध्यक्षमा देवन चाम्लिङ (पृथ्वी)ले १२०, शिवकुमार डाँगीले ११३ मत र मणिकुमार साम्पाङले १११ मत ल्याएर विजयी भए। उपाध्यक्षका लागि ८ जनाले उम्मेद्वारी दिएका थिए। यस्तै सचिव पदमा गणेश उप्रेती (सुशील) ले १४८ मत ल्याएर विजयी बने । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत पाए।
यस्तै ३ जना सह-सचिवमा कुमारी राई (रचना), ऋषिराम ढुंगाना (कुसुम) र सागर किराँती विजयी भएका छन्। राईले ११४, ढुंगानाले ९५ र किराँतीले ७३ मतसहित विजयी भए।सहसचिवका लागि १३ जनाले उम्मेद्वारी दिएका थिए। कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गर्दा मदनकुमार चुँडालले ५५ मत पाए। १ कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका थिए।
९ जना पदाधिकारीका २९ जनाले उम्मेदवारी दिएका थिए। निर्वाचनमा प्रदेश कमिटि सदस्य २४० जनाले मतदान गरेका थिए।