‘प्रदेश सरकार असहाय अशक्तकाे अभिभावक बन्नेछ’ मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेश सरकार असहाय अशक्तहरुकाे अभिभावक रहेकाे बताएका छन् । असहाय अशक्त अपाङ्गताकाे हकहितमा सरकार काम गरिरहेकाे भन्दै आईतबार मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका ब्यक्तिहरुसँगकाे भेटमा मुख्यमन्त्री भट्टले यस्ताे बताएका हुन् ।
विविध कारणले अपाङ्गता हुन पुगेकाहरुलाई सक्दाे काम गर्ने अवसर जुटाएर सहज जीवन यापनमा प्रदेश सरकार प्रयासरत रहेकाले सेवा सुविधा लिन एकजुट हुनुपर्ने बताए ।
अपाङ्गता भएका ब्यक्ति र यस क्षेत्रमा कार्यरत संस्थाहरु एकजुट नहुँदा सरकारले छुट्टाएकाे बजेट पनि कार्यान्वयन गर्न नसकेकाे र लक्षित समुहले लाभ लिनबाट बन्चित भएकाे उनकाे भनाई थियाे ।
मेरुदण्डिय पक्षघात समुह नेपालले प्रदेश सरकारसँग माग गरेकाे ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले भने- ‘मलाई अवगत गराएकाे कुरामा विषयगत मन्त्रालय र सरकार सम्बद्धमा छलफल गरेर चाँडै नीतिगत समाधान गर्नेछाैं ।’ उनले भने- ‘अझै समुहगत रुपमा तपाईहरुले भाेग्नुपरेका समस्य र सरकारसँगकाे अपेक्षा याेजनागत ल्याउनुस्, सरकार सक्दाे सहयाेग गर्छ ।’
स्पानल कट ईन्जुरी नेटवर्क नेपालले यस समुहका ब्यक्तिहरुले भाेग्दै आएका समस्य र सरकारले गर्नुपर्ने कामबारे जानकारी गराउदै सुदूरपश्चिमका कैलाली कञ्चनपुरमा रहेका मेरुदण्ड पक्षघात भई अपाङ्गता भएका ब्यक्तिहरुलाई मुख्यमन्त्री भट्टमार्फत स्वास्थ्य सामाग्री निशुल्क वितरण गरेकाे थियाे ।