अदालतको विवादमा पहिलाे पटक बोल्यो सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले सर्वोच्च अदालतमा देखिएको विवादबारे मुख खोलेका छन् । सरकारलाई सघाउन भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको मंगलबार बसेको बैठकमार्फत सत्ता गठबन्धनमा आबद्ध पाँच दलले अदालतको विवादबारे ध्यानाकर्षण भएको भन्दै पहिलाे पटक मुख खोलेका हुन् ।

‘सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, राज्यको महत्वपूर्ण अंगका रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ र सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्ने हामी आशा गर्छाैं,’ बैठकपछि समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पाँच दलीय गठबन्धन जनतालाई छिटो र सहज रूपमा सेवासुविधा उपलब्ध गराई जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न क्रियाशील रहेको तथा बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत तथा उनीहरूको पुनस्र्थापनाका लागि प्रभावकारी रूपमा काम अघि बढाइएको विज्ञप्तिमार्फत समितिले जानकारी गराएको छ ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलले सहभागी थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.