मेलाका लागि दुई दिन सार्वजनिक बिदा
धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला लाग्दछ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको दुवै गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । मेलालाई व्यवस्थित बनाउन दुवै गाउँपालिका तथा बराहपोखरी विकास समितिका तर्फबाट स्वयंसेवकसमेत परिचालन गरिएको छ ।
मेलामा हुनसक्ने आपाराधिक घटनालाई न्यूनीकरण गर्न इलाका प्रहरी कार्यालय चिसापानी र बराहपोखरी तथा सशस्त्र प्रहरी गुल्म चिसापानीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए ।