तिहारको लागि नेपाल भित्रियो ७० करोडकाे झिलिमिली बत्ती

नेपाल इलेक्ट्रिक व्यवसायी महासंघले यो वर्ष तिहारको लागि ७० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको जनाएको छ । महासंघका अनुसार यो वर्ष चीनबाट ९० प्रतिशत र भारतबाट १० प्रतिशत झिलिमिली बत्ती आयात गरिएको हो ।

महासंघका महासचिव कमल पोखरेलले तिहारका लागि बजारमा आएको बत्तीको कारोबार सुरु भइसकेको जनाए । उनका अनुसार तिहारको बत्तीको व्यापार ठूलादेखि साना सहरसम्म सुरू भइसकेको छ । सामान्य अवस्थामा वार्षिक १ अर्बभन्दा बढी विद्युतीय बत्ती नेपालमा आयात हुने गरेको महासंघले जनाएको छ ।

तिहारमा मात्रै ८० प्रतिशत खपत हुन्छ भने अन्य २० प्रतिशत झिलिमिली बत्ती क्रिसमस, नयाँवर्ष तथा विवाहभोजमा बिक्री हुने पोखरेलले जानकारी दिए । विगत दुई वर्षमा कोभिडका कारण झिलिमिली बत्तीको आयातमा निकै गिरावट आएको महासंघले जनाएको छ । तिहार उज्यालो पर्वको रुपमा तिहार चिनिन्छ । धनकी देवी लक्ष्मीको पूजा गरिने यो तिहारमा करोडौं रुपैयाँको झिलिमिली बत्ती कारोबार हुने गर्छ ।

पहिला सहरमा मात्र देखिन झिलिमिली बत्ति अहिले गाउँ गाउँमा पुगेको छ । गाउँमा विद्युत पुगेसँगै झिलिमिली बत्ति पनि पुगेको हो ।लोडसेडिङ समाधान भएकाले पछिल्ला वर्षहरुमा तिहारमा यस्ता बत्तीको माग दोब्बरले वृद्धि​ हुँदै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.