यात्रु अलपत्र छोडेर नेपाल एयरलाइन्सका जहाज रित्तै उड्दै

बझाङ ।  स्थानीयले धनगढी–बझाङ नियमित उडान गर्नुपर्ने माग गरिरहेका बेला यात्रु नपाइएको भन्दै खाली जहाज उडाउन थालिएको छ। आइतबारदेखि धनगढी–बझाङमा उद्धार उडान थालेको नेपाल वायु सेवा निगमको जहाजले यात्रु नै नल्याएर खाली जहाज उडाउन थालेको हो।

टिकटको खोजीमा रहेका यात्रुले निगम कर्मचारीसँग सम्पर्क हुन नसकेको बताएका छन् भने निगमले धनगढीमा यात्रु अभाव भएको दाबी गर्दै उडान नियमित नहुने जनाएको छ।निगमका नायव महाप्रबन्धक गणेश चन्दले भने, ‘धनगढीबाट बझाङ जाने यात्रु दुई जना मात्रै भए भन्ने रिपोर्ट आएको छ। यस्तो अवस्थामा कसरी उडाउन सकिन्छ?’ उनले धनगढीमा यात्रु अभाव रहेको जानकारी आएको बताए। यद्यपि सयौं यात्रुले धनगढीबाट बझाङ आउन चाहेको बताइरहेका छन।

‘हामीले दुई दिनदेखि टिकट काट्न निगमका कर्मचारी खोज्यौं तर नभेटेपछि भनसुन गरेर बुधबारका लागि निजी एयरलाइन्सको टिकट लिएका छौं,’ भारतबाट १२ जनाको समूहमा आएका मस्टा गाउँपालिकाका कलक बोहराले भने, ‘अहिले निगमको जहाज ९ जना मात्रै यात्रु लिएर गयो भन्ने खबर सुनियो। यहाँ मान्छे भने टिकट नपाएर भौंतारिएका छन।’ उनले आफ्नो सम्पर्कमा रहेका धनगढीबाट बझाङ आउन चाहने ७० जनाभन्दा बढीले टिकट नपाएको बताए।

नायब महाप्रबन्धक चन्दले गिरी थरका एक कर्मचारीलाई धनगढीमा टिकट व्यवस्थापनका लागि नेपालगन्जबाट खटाइएको बताएका छन। बझाङका स्थानीयले भने धनगढीमा यात्रुको चाप हुँदाहुँदै जहाज खाली उडाएर नियमित उडान रोक्ने निगमका कर्मचारीको चालबाजी भएको आरोप लगाएका छन। निगमको उद्धार उडानको आसमा रहेका सयौं यात्रु निराश बनेका छन। जयपृथ्वी नगरपालिका–९ की ६७ वर्षीया रमा खड्का त एक सातादेखि जहाजको टिकट खोज्न भौंतारिएकी छन। बझाङमा नियमित उडान गरिरहेको एक मात्रै निजी विमान कम्पनी समिट एयरको टिकटका लागि धाएकी उनी टिकट पाउन नसकेपछि निराश थिइन।

निगमको जहाजको समेत टिकट नपाएपछि उनी अलपत्र परेकी छन। निगमले उद्धार उडान गर्ने जानकारी पाएपछि दसैं बिदामा घर आएका नाति–नातिनालाई धनगढी पठाउन उनी सोमबार सदरमुकाम चैनपुर पुगेर टिकटको लाइनमा बसिन। बिहान १० बजे पुगेकी उनलाई मंगलबारको उडानको टिकट सकिएकाले अर्को दिन आउन भनियो।मंगलबार बिहान ८ बजे खाना नखाई उनी लाइन बस्न पुगिन। तर दिउँसो ४ बजेसम्म पनि टिकट काट्ने कर्मचारी आइपुगेनन।

यतिन्जेल लाइनमा बस्नेको संख्या ७६ पुगिसकेको थियो। दिउँसो ३ बजे जो पहिला आयो उसैले मात्रै टिकट पाउने उर्दी जारी गरेका निगमका कर्मचारी ४ बजेसम्म पनि सम्पर्कमा आएनन। फोनसमेत अफ भएपछि यात्रु आक्रोशित भए। ‘बिरामी मान्छे सकिनसकी भोकभोकै बिहानदेखि लाइन लागें। टिकट काट्ने मान्छे नै आएन,’ रमाले आक्रोश पोख्दै भनिन्, ‘गाडीबाट पठाऊँ भने गाडी चल्दैन। प्लेनको टिकटको हालत यस्तो छ।’

साँझसम्म पनि कर्मचारी सम्पर्कमा नआएपछि लाइन बसेकाहरू नाराजुलुस गर्दै जिल्ला प्रशासनमा पुगे। सहायक प्रमुख जिल्ला अधिकारीलाई भेटेका उनीहरूले सन्तोषजनक जवाफ पाएनन। ‘सहायक सीडीओले पनि भोलि–पर्सि निगमको कर्मचारीलाई बोलाएर सोधपुछ गर्छु भने। पावर हुने मान्छेलाई मात्रै उडाइरहेका छन। सर्वसाधारणले टिकटै पाएनन्,’ बिहान ८ बजेदेखि नै लाइन बसेका तेज कठायतले भने, ‘अब त सरकारी जहाज आयो सुविधा होला भनेको त सास्ती मात्रै पायौं।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.