‘सीआईडी हौँ’ भन्दै मध्यरातमा ट्रक नियन्त्रणमा लिने ६ जना पक्राउ
नक्कली प्रहरी बनेर मध्यरातमा ट्रक नियन्त्रणमा लिने ६ जना पक्राउ परेका छन्।आबुखैरेनी गोरखा सडक खण्डको बाह्रकिलो बजार नजिकै उनीहरूले सोमवार राति दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिइ सामानमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
उनीहरूले गोरखा सदरमुकाम आउँदै गरेको ना ६ त ४५६ र ना ६ ख ५५०१ नम्बरको दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर जाँच गरेको बताइएको छ। राति दुई बजेतिर उनीहरूले प्रहरीको सीआईडी हौँ भन्दै जबरजस्ती मालवाहक गाडी नियन्त्रणमा लिने, धाकधम्की दिने, सहचालकको मोबाइल खोस्ने र ट्रकमा भएको सामानमा समेत क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनामा संलग्न गोरखा नगरपालिका ११ का २० वर्षीय निरञ्जन तामाङ, त्यही ठाउँका २१ वर्षीय निरज कोइराला र १९ वर्षका सुरज तामाङलाई घटनास्थलबाट गए राति नै पक्राउ गरिएको हो। घटनापछि फरार रहेका त्यही ठाउँका २० वर्षीय ओमराज गुरुङ, मनोज तामाङ र रिकेश कुँवरलाई आज बिहान पक्राउ गरिएको हो।
पक्राउ परेका ६ जनाविरुद्ध सार्वजनिक हितविरुद्धको कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान गर्नका लागि १० दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।