सुदूरपश्चिम पुग्यो पौने ४ लाख डोज खोप, विधार्थी प्राथमिकतामा

धनगढी । सुदूरपश्चिमका लागि थप पौने चार लाख कोरोना भाइरसविरुद्धको खोप धनगढी पुगेकाे छ । संघीय सरकारले चीनबाट खरिद गरी ल्याइएको ४० लाख डोजमध्ये तीन लाख ७० हजार डोज भेरोसेल सुदूरपश्चिम पुगेको हो।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदक विष्टले तीन लाख ७० हजार खोप धनगढी पुगेको बताउँदै जिल्लामा पठाउन सुरु गरिएको जानकारी दिए। ‘बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा आजै खोप पठाउन सुरु गरेका छौँ,’ विष्टले भने, ‘अन्य जिल्लामा पनि भोलिदेखि पठाउँछौ। १४ गतेभित्रै खोप लगाउनुपर्ने छ।’

स्वास्थ्य मन्त्रालयका अनुसार अछाम, बाजुरा र दार्चुला जिल्लामामा ४० वर्षमाथिका सबै नागरिकलाई खोप दिइने छ। यी जिल्लामा खोप लगाउन छुटेका १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप लगाइने मन्त्रालयले जनाएको छ। 

कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा, बझाङ र डोटी जिल्लामा भने ४५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ। खोप लगाउन जाँदा आफ्नो उमेर र पेसा खुल्ने परिचयपत्र अनिवार्य लिएर जान आग्रह गरिएको छ। परिचय पत्र नभएको खण्डमा पालिकाबाट उमेर खुल्ने सिफारिस लिएर जान भनिएको छ। यहाँ पनि खोप लगाउन छुटेका १८ वर्षमाथिका विद्यार्थीलाई प्राथमिकता दिइएकाे छ ।

अहिले पहिलो डोज लगाएकालाई कात्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो डोज खोप लगाइने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।सुदूरपश्चिममा अहिलेसम्म झण्डै १० लाखलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। पूर्ण खोप पाउने नागरिकको सख्या भने झण्डै ५ लाख रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.