जनयुद्ध र जनआन्दोलनका घाइतेको गण्डकी सरकारले नि:शुल्क उपचार गर्ने
गण्डकी सरकारले जनयुद्ध र जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार गर्ने भएको छ। प्रदेश सरकार मातहत रहेका अस्पतालबाट सामान्य उपचार नि:शुल्क गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले बताए। यसका लागि प्रदेश सरकारले जिल्ला अस्पतालहरुलाई बजेटको व्यवस्था गरेको छ।
मन्त्रिपरिषदको भदौ १३ गते बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ्ग, बेपत्ता र शहिद परिवारको नि:शुल्क उपचार गर्न जिल्ला अस्पतालहरुलाई तत्काल बजेट पठाउने निर्णय गरेको छ। जसअन्तर्गत मनाङ र मुस्ताङ जिल्ला अस्पताललाई तत्काल एक/एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ भने बाँकी ९ वटा जिल्ला अस्पताललाई २ लाख ५० हजार रुपैयाँका दरले पठाउने निर्णय गरेको छ।
जनयुद्ध र जनआन्दोलनका घाइतेको उपचार गर्न तत्कालका लागि उक्त रकम पठाउने निर्णय गरेको बताउँदै प्रवक्ता खड्काले आवश्यकताअनुसार जिल्ला अस्पतालले थप रकम माग गर्न सक्ने बताए। ‘उपचार खर्चका लागि बजेटको लिमिटेसन तोकेका छैनौं, आवश्यकताअनुसार जिल्ला अस्पतालले माग गर्न सक्छन्,’ उनले भने, ‘सामान्य उपचारभित्र के-के समस्याको उपचार गर्ने स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएर परिभाषित गर्छ।’
जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ्ग, शहिद र बेपत्ता परिवारको उपचार गर्न प्रदेश सरकारले परिचय पत्र वा प्रमाणपत्रको व्यवस्था समेत गर्ने भएको छ। सरकारले दिएको परिचय पत्र वा प्रमाण पत्रका आधारमा उपचार गरिने मन्त्री खड्काले बताए। प्रदेश सरकारले गत साउन ४ गते नै जनयुद्ध र जनआन्दोलनका घाइतेको उपचार गर्न अवधारणा पत्र ल्याएको थियो।