पर्यटकको भिड बढ्दै गएपछि कञ्चनपुरकाे ‘भाइरल रोड’ बन्द
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन महाकालीमाथीकाे चार लेनको पक्की पुलसँगै निर्माण भएको सडक सर्वसाधारणका लागि बन्द हुने भएको छ। टिकटक, भिडियो र फोटो खिच्न आउने भीडका कारण ‘भाइरल रोड’ भनेर चर्चित भएको उक्त सडकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रोक लगाएको हो।
बुधबार जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सम्पन्न भएको बैठकले आगामी आइतबारदेखि उक्त सडकमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले बताए।उक्त सडकमा लाग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडका कारण कोरोनाको जोखिम बढीरहेका कारण यस्तो निर्णय गरिएको उनले बताए।
सोमबार मात्रै भाइरल रोडको छेउमै रहेको महाकाली नदीमा भीमदत्त नगरपालिका–१२ ओदानीका ४५ वर्षीय कृष्णदत्त जोशी बेपत्ता भएका थिए। उनको खोजी कार्य भइरहेको कञ्चनपुर प्रहरीका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानले बताए।