आज सोनाम तथा ग्याल्बो ल्होछारकाे अवसरमा सार्वजनिक विदा
धनगढी । आज सोनाम तथा ग्याल्बो ल्होछार। देशभरका तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदैछन्। यता शेर्पा समुदायले भने ग्याल्बो ल्होछार। ह्योल्मो समुदायले पनि आजै ल्होछार मनाउँदै छन्।
सरकारले सोनाम ल्होछारमा आज सार्वजनिक बिदा दिएको छ। कोरोना महामारीलाई मध्नजर राख्दै यस वर्षको ल्होछार पर्व घरघरमा भव्यताका साथ मनाउन घेदुङले तामाङ समुदायसमक्ष आह्वान गरेको छ।
ल्होछारलाई साँस्कृतिक, धार्मिक पर्वका साथै नयाँ वर्षको रूपमासमेत मनाउने गरिन्छ। तामाङ भाषाको ‘ल्हो’ शब्दको अर्थ ‘वर्ग’ र ‘छार’ को अर्थ ‘नयाँ’ हुन्छ। १२ वटा जीवजन्तुको नाममा ल्हो (वर्ग)को गणना गर्ने प्रचलन रहेको छ, जुन प्रत्येक वर्ष परिवर्तन हुन्छ। यस वर्ष तामाङलगायत ल्होछार मान्ने समुदायले जिवा (मुसा) वर्गको बिदाइ गरी लाङ/म्हे (गाई) वर्गलाई स्वागत गर्दै छ। जसअनुसार माघ ३० गतेबाट गाई वर्ग सुरू हुन्छ।
ल्होछारमा परिवार जमघट भई लामा तथा बोन्बो (झाँक्री)बाट पूजापाठ गर्ने, मान्यजनबाट आशीर्वाद लिने/दिने तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने गरिन्छ। साथै, सामूहिक रूपमा जम्मा बृहत् साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरिँदै आएको छ। यो पर्व एक महिनासम्म धुमधामका साथ मनाउने गरिन्छ।