जनक भण्डारी
शिक्षा सधैं पाठ्यपुस्तकको पानाभित्र मात्रै सीमित रहँदैन। कहिलेकाहीं त्यो रुखको छहारीमा, माटोको गन्धमा, वा गुरुको आँखाको मायामा पनि समाहित हुन्छ। डडेल्धुरा जिल्लाको साविक समैजी गाविसस्थित पुईलेक डाँडामा रहेको वालकल्याण निम्न माध्यमिक विद्यालय त्यही शिक्षा र आत्मीयताको प्रतिक हो जहाँ मैले कक्षा ७ सम्मको आधारभूत शिक्षाकाे यात्रा पूरा गरेँ।
त्यो बेला विद्यालयमा जम्मा दुईवटा भवन थिए । रातो जस्ताले छाएको तीन कोठे भवन, जसमा कक्षा २, ३, र ४ सञ्चालन हुन्थे; र अर्को ढुङ्गाको पाँच कोठे भवन, जसले अन्य कक्षाहरू अँगाल्थ्यो। कक्षा ७ सम्मको सीमित शैक्षिक संरचना हुँदाहुँदै पनि त्यहाँको वातावरण, आत्मीयता र सरलताले हाम्रो शिक्षाको सार्थकता सिद्ध गर्थ्यो।
विद्यालय चारैतिर रमबाँस र डाँसी ढुङ्गाले बनेको पर्खालले घेरीएको थियो। अगाडिपट्टी रहेका कनिउरो, आरु, तिमुलो र रिठाका रुखहरूको छहारीमा हामी पाठ्यपुस्तकका अक्षरहरू मात्र होइन, जीवनका गहिरा अनुभूतिहरू पनि पढ्थ्यौं। ती रुखहरू केवल वनस्पतिको अस्तित्व थिएनन्, तिनले हामीलाई मायालु कक्षाकोठाजस्तो अनुभूति दिलाउँथे जहाँ गुरु र शिष्यबीचको सम्बन्ध प्रकृतिसँगै घुलमिल हुन्थ्यो।
सुक्रबारको अतिरिक्त क्रियाकलाप हाम्रो सानो संसारमा विविधता ल्याउने अवसर हुन्थ्यो। “हटी होईन डटी लडने नेपालीको वानी हुन्छ ” राष्ट्रीय गान र “वासुलिका टोटा, चाखुणी मुलाई वाघले खायो, को हाल्लो रोटा” भन्ने गीत अझै पनि कानमा मिठाससाथ गुन्जिरहेको अनुभूति हुन्छ। विद्यालयको कार्यालय अगाडि रहेको आमिलाको रुखमा झुण्ड्याइएको घण्टी, र शिक्षकको निर्देशनमा घण्टी बजाउने विद्यार्थी यी सबैले हामीलाई जिम्मेवारी र अनुशासनको प्रारम्भिक पाठ सिकाउँथे।

खेलकुद पनि हाम्रो जीवनको अभिन्न हिस्सा थियो। फराकिलो मैदानमा कबड्डी र भलिबल खेलिने गर्दथ्यौं। तर कहिलेकाहीँ गुरुहरूको नजर छल्दै हामी पछाडिको गल्छीमा लुकीलुकी गुच्चा खेल्थ्यौं। सर बेडुको लट्ठी लिएर लखेट्नुहुन्थ्यो, तर त्यो लखेटाइ पनि हाम्रो बालपनको रमाइलो सम्झनामा परिणत भएको छ। घुच्ची, फुसुन्डी, गाई की त्रिशूल, साल बोल्ने खेलहरू यी सबैले हाम्रो बाल्यकालमा रङ भर्ने काम गरे।
शिक्षकगण सबै असल, कर्तव्यनिष्ठ र प्रेरणादायी हुनुहुन्थ्यो। तीमध्ये धर्म सिंह विष्ट सर , स्व. दिर्घराज पन्त, स्व. खडक सिं भण्डारी, स्व. नवल सिं भण्डारी स्व. लक्ष्मी जोशी र स्व. भरत सिं ऐर को सम्झना विशेष श्रद्धासाथ आउँछ। उहाँले नैतिक शिक्षा मात्र पढाउनुहुन्थेन, उहाँ स्वयम् नै नैतिक जीवनको ज्वलन्त उदाहरण हुनुहुन्थ्यो।
त्यो समय विद्यालयमा पिउने पानीको सुविधा थिएन। कहिले घरबाट बोतलमा पानी ल्याइन्थ्यो, त कहिले पुईलेक वा बुंङगडाको नुवालातिर धाउनुपर्थ्यो। ब्रेकटाइममा जोलिना माताको कुटीतिर दौडिँदै काफल टिप्न जानु, र कक्षा सुरु भइसकेपछि मात्रै फर्किनु यी सबै दृश्यहरू आज पनि स्मृतिमा ताजै छन्। समयमा क्लासमा नआउनेलाई सरले बाहिर क्रमबद्ध राखेर ‘कुखुरा’ बनाउनु हुन्थ्यो । यस्तो सजायले हामीलाई त्यो सजाय मात्र नभएर, अनुशासन सिकाउने अभ्यास थियो।
विद्यालय रंगाउने बेलामा हामी दोगाडबाट कमेरो माटो बोकेर ल्याउँथ्यौं। त्यो सानो उमेरमै गरिएको श्रम, सायद, जिम्मेवारी वहन गर्ने अभ्यास थियो। हामीले त्यसलाई काम नभई गर्वको अवसर ठान्थ्यौं। मेरो जीवनले पछि नयाँ मोड लियो। म उग्रतारा माध्यमिक विद्यालय हुँदै धनगढी पुगें। भौगोलिक रूपमा वालकल्याण मबाट टाढा रह्यो, तर भावनात्मक रूपमा त्यो अझै मेरो नजिक छ।
अहिले वालकल्याण नि मा वि वाट उच्च मा वि मा रुपान्तरित भैसकेको छ र त्यहाँ पक्की भवन, पिउने पानी, खेल मैदान र आधुनिक उपकरणहरू छन् तर ती तिमुलो र बेडुका रुखहरू, ढुङ्गाको पर्खाल, अमिलाको रुखमा झुण्ड्याईने घण्टी र धर्म सिंह सरजस्ता गुरुवर्गको त्यो आत्मीयता आधुनिक सुविधामा हराइसकेको हुनसक्छ।
आज जब म आँखा चिम्लन्छु, पुरानो र हालको वालकल्याण एकसाथ मनमा आइपुग्छन्। बालसखा, निर्दोष खेल, गुरुकुलको अनुशासन र प्रकृतिसँगको सम्बन्ध यी सबै मेरो बाल्यकालका रङीन पत्रहरू हुन्, जसमा न त समयको धुलो लाग्छ, न त ती कहिल्यै मेटिन्छन्।
