धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले अपाङ्गता भएका नागरिकले संविधानप्रदत्त आफ्ना हकअधिकार पाउन पनि आन्दोलन गर्नुपर्ने अवस्थाप्रति दुख ब्यक्त गरेका छन् । राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ नेपालले आईतवारदेखि धनगढीमा अपाङ्गता र लौङ्गिक उत्तरदायी नीति तथा बजेट कार्यक्रम तर्जुमाबारे स्थानीय समन्वय समितिलाई आयोजित तालिमको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
जीवनयापन सरल र सहजतालागि जनताले ठूलठूला आन्दोलन गरेर राज्यव्यबस्था परिवर्तन भएको लामो समयसम्म नीतिगत अधिकार कार्यान्वयन नहुँदा अझैं खबरदारी जरुरी रहेको भन्दै प्रदेश प्रमुख जोशीले भने–‘अपाङ्गताका सेवा सुविधाकालागि अपाङ्गता भएका ब्यक्तिहरु नै संगठीत भएर लाग्नुपर्छ, सबै तहका जनप्रतिनिधिहरुले पनि विकास निर्माण त समयक्रमसँगै भैइरहने हो, तर, अपाङ्गताको विषय गम्भीतासाथ लिनुपर्ने हो ।’
अपाङ्गतासम्बन्धि नीति बनाउन र संविधानप्रद हकअधिकार कार्यान्वयनमा प्रदेश सरकारसँग कुरा चलाउने उनको प्रतिबद्धता थियो । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सचिव पदमराज जोशीले अपाङ्ताका सवाललाई सोह्रौं आवधिक योजनामा समेटने बताए । यस्तै आन्तरीक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव बिश्वदीप बेस्राले प्रदेशमा अपाङ्तासम्बन्धिको नीति तयार भैइसकेको र चालु अधिवेशनमा टेबुल गर्ने तयारी भैइरहेको बताए ।
राष्ट्रिय अपाङ महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मानवहादुर साउदले संविधानमा लेखिएका हकअधिकार आफुहरुकालागि कालो अक्षर मात्रै भएको बताउदै कार्यान्वयनमा जोड दिए । राष्ट्रिय आदिवासी जनजाती अपाङ््ग महिला संघ नेपालका अध्यक्ष एवं त्रिभुवन विश्वविधालयका उपप्रध्यापक प्रतिमा गुरुङ र सो संस्थाका निर्देशक कृष्ण गहतराजले दुई दिनसम्म कैलालीका स्थानीय समन्वय समितिमा रहेका प्रमुख तथा पदाधिकारीहरुलाई अपाङ्गता क्षेत्रमा गर्नुपर्ने काम कर्तव्यबारे तालिम दिइरहेका छन् ।
तालिममा कैलारी गाउँपालिका, भजनी नगरपालिका, मोहन्याल गाउँपालिका, गोदावरी नगरपालिकाका साथै अपाङ्गता क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरुको सहभागिता रहेको छ ।