
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी थालेको छ। सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरिसकेको सरकारले अहिले विभिन्न चरणमा छलफल सुरु गरेको हो ।
सुदूरपश्चिममा शिक्षासम्बन्धी विज्ञ, राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवालासँगको अन्तरक्रिया गरिसकेको प्रदेश सरकारले अहिले यस विषयमा काठमाडौँमा थप छलफल र अन्तरक्रिया गर्दै राय सल्लाह सुझाब लिइरहेको छ। प्राविधिक शिक्षा मार्फत दक्ष जनशक्ति निर्माण गरी गरिबी निवारण र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिलाई लक्षित उक्त प्राविधिक विश्वविद्यालय सञ्चालनमा प्रदेश सरकारको सामाजिक बिकसमन्त्री लागिपरेको देखिन्छ।
सामाजिक बिकसमन्त्री झपट बहादुर साउदको अध्यक्षतामा काठमाडौँमा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभाका सदस्य दिलचन्द्र प्रसाद बडू, भानुभक्त जोशी, ईश्वरी न्यौपाने, बद्री पाण्डेय, दयाल बहादुर शाही, राष्ट्रिय सभा सदस्य गरिमा शाही, हरिराम चौधरी, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, प्रदेश सदस्य माननीय खगराज भट्ट, पूर्व सांसदहरू डा रण बहादुर रावल लगायत जनक शाह, जनकराज गिरि, डा लक्ष्मीराज पाठक, जनार्दन नेपाल,रामहरि लामिछानेले प्राविधिक विश्वविद्यालय निकै आवश्यक भएको बताएका थिए ।
विश्वविद्यालयको मस्यौदा तयार भई छलफलमा आइसकेकाले यसको दिगो सञ्चालन चुनौती समाधानका उपायका बारेमा गम्भीरता पूर्वक छलफल गर्नु पर्नेमा सहभागीहरूले आग्रह गरेका थिए । काठमाडौँको छलफलमा मुख्यमन्त्री कमल बहादुर शाहले सङ्घ र स्थानीय तहको अपनत्व रहने गरी स्थापना गर्ने सोच अनुसार आफूहरू तयारीमा रहेको जानकारी दिएका थिए। उनले उच्च स्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको बताए ।
उक्त कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, प्रमुख सचिव डा. हरि लम्साल, विश्वविद्यालय ऐनको ड्राफ्ट मस्यौदा संयोजक डा. लवदेव अवस्थी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेश सिंह सहितको उपस्थिति रहेको सामाजिक विकासमन्त्री साउदको सचिबालयले जानकारी दियो।
