सेती अस्पतालद्वारा सिकलसेलको निःशुल्क परीक्षण शिविर

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमिया तथा थाइलेसिमिया निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको छ । अस्पतालले धनगढी उपमहानगरपालिका–१६ घसिटामा आज शनिबारदेखि निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको हो ।

विशेष गरी थारु समुदायमा देखिने यो रोग बढी प्रभावित क्षेत्र आँकलन गरेर शिविर सञ्चालन गरिएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुरिटेन्डेन्ट डा शेरबहादुर कमरले बताए । यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने र यसबाट थारु समुदाय बढी प्रभावित भएको उनले बताए। “सिकलसेल एनिमिया वंशाणुगत रोग हो”, उनले भने, “सिकलसेल आमाबुवा दुवैमा छ भने उहाँहरुबाट जन्मिएका सबै सन्तानमा हुने सम्भावना बढी हुन्छ ।”

सेती अस्पतालमा पनि हाल सिकलसेलको निःशुल्क परीक्षण हुने गरेको उहाँले बताउनुभयो । अस्पतालमा हालसम्म नौ सय १४ जना सिकलसेल एनिमियाका बिरामी दर्ता भएको अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख गौरीदत्त जोशीले जानकारी दिए । दर्ता भएका सबै बिरामीले औषधि सेवन गरिरहेको उनको भनाइ छ । उनले भने, “औषधि फरक–फरक हुन्छ । दुखाइको औषधि सबैले सेवन गरिरहेका हुन्छन् ।”

थारु समुदायलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए । उनले भने, “यो थारु समुदायमा बढी देखिने रोग हो । जो अस्पतालसम्म आउन नसक्ने छन्, उहाँहरुको समुदायस्तरमै गएर जाँच गर्ने हाम्रो योजना हो ।” आगामी दिनमा जिल्लाका अन्य ग्रामीण क्षेत्रमा पनि यसरी नै शिविर सञ्चालन गरिने उनको भनाइ थियो ।

प्रदेश सरकारको सहयोग तथा धनगढी उपमहानगरपालिकाको समन्वय र सहकार्यमा २ दिने शिविर सञ्चालन गरिएको अध्यक्ष शाहले बताए । उनका अनुसार शिविर माघ ७ गते (आइतबार) वडा नं. १७ धुर्जन्नामा सञ्चालन हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.