आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । १९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ ।
भूकम्पले क्षति पुर्याएका संरचनाको पुनःनिर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । यसपालि ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराकासाथ २६ औँ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।
काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी पनि हुनेछ ।
१९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । ९० सालमा ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो ।