काठमाडौ। अन्य मौसमको तुलनामा जाडो मौसममा मुटुका रोगी बढ्ने गर्दछन् । विभिन्न अध्ययनले पनि जाडोमा मुटुरोगीको सङ्ख्या बढ्ने देखाएको छ । कार्डियोलोजिस्ट डा.सुजिव राजभण्डारी जाडोमा रगतका नलीहरू खुम्चिई ब्लड प्रेसर बढ्ने भएकाले मुटुलाई धेरै भार परी मुटुरोग बढ्ने बताउदछन।
चिसोमा मुटुले आवश्यकता अनुसार रगत पप गर्न नसक्ने, धमिनी बन्द भएर हृदयाघात भएर, जाडोमा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा धेरैजस्तो छातीमा सङ्क्रमण भएर धेरै बिरामी अस्पतालमा आउने गर्दछन् । मुटुरोग महिलाको तुलनामा पुरुषमा बढी देखिने र पछिल्लो समय युवा अवस्थामा पनि हृदयाघात हुने सम्भावना बढिरहेको छ ।
अत्यधिक धूम्रपान, असन्तुलित खानपान, अव्यवस्थित जीवनशैली, व्यायामको कमी र वातावरणीय असरले युवामा मुटुरोग बढ्दै भएको डा.राजभण्डारी बताए । उनका अनुसार मुटुरोग विभिन्न प्रकारका हुन्छन् । जन्मजात मुटुरोग, वंशाणुगत हुने मुटुरोग, वातावरणीय प्रभावबाट हुने मुटुरोग, बढ्दो उमेरले गर्दा हुने मुटुरोग तथा विभिन्न कारणले हृदयाघात, छाती दुख्ने, बाथको रोगले गर्दा हुने समस्या, मुटु फुलिने उच्च रक्तचाप, मधुमेहले गर्दा मुटुरोग उत्पन्न हुने गर्छन् ।
बढ्दो उमेर, वंशाणुगत, असन्तुलित खानेकुरा, व्यायामको कमी, वातावरणीय प्रभाव, अन्य दीर्घरोगका कारण, अत्यधिक मद्यपान र धूम्रपान गर्ने मानिसमा मुटुरोग बढी हुने सम्भावना हुन्छ ।
हिँड्दा छाती दुख्ने, दम बढेर स्याँस्याँ भएमा, खुट्टा बढी सुनिएमा, थकान महसुस हुनेजस्ता लक्षण देखिएमा मुटु रोग भएको अनुमान गर्न सकिने डा. राजभण्डारी बताउनुहुन्छ । चिसोमा मुटुरोग बढ्न नदिन न्यानो भएर बस्ने, सकभर बाहिर ननिस्कने । चिसो कम भएको बेलामा दिनमा ४५ मिनेट लम्केर हिँड्ने, सन्तुलित खानेकुरा खान, व्यायाम गर्ने, धूम्रपान, मद्यपानको सेवा नगर्न उनको सुझाव छ ।