धनगढी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले गेटामा तत्काल विश्व विद्यालय बनाउने भन्दा पनि सय शय्याको अस्पताललाई जोड दिनु पर्ने बताएका छन् । सोमबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले अहिले विश्व विद्यालय वा प्रतिष्ठानको लागि हतार गर्नु पर्ने बेला नभएको जिकिर गरे ।
पहिले चरणमा सय शय्याको अस्पताललाई बलियो बनाउने त्यसपछि तीन सय शय्याको अस्पताल सुरु गर्ने त्यसपछि मात्रै विश्व विद्यालय वा प्रतिष्ठान तर्फ जानु पर्नेमा जोड दिए । ‘सबै भन्दा पहिले एक सय बेडको अस्पताल चलाउन लाग्नु पर्छ । हामीले १४१ दरबन्दी पठाइसकेका छौँ । त्यो अनुसार अस्पताल बलियो बनाएपछि हुन्छ अहिले विश्वविद्यालय भन्दा हतार हुन्छ ’ मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् या विश्व विद्यालय होस् सबै भन्दा पहिले अस्पताल चल्नु पर्छ ।’
धनगढीमा उनले डडेल्धुरा अस्पताललाई पनि तीन सय शय्यामा लैजाने प्रक्रिया सुरु भएका बताए । तीन शय्याको अस्पताल सुरु गरे लगत्तै एमबिबिएस अध्ययन सुरु गर्ने उनले बताए । सेती प्रादेशिक अस्पतालमा पनि बिरामीको चाँप बढिरहेको मन्त्री बस्नेतले बताएका थिए । सुदूरपश्चिमका केही जिल्ला भारतीय सिमा नाकासँग जोडिएकाले संक्रमण भित्रिन सक्ने भन्दै संवेदनशील हुनुपर्ने बताएका थिए ।
अहिले साना ठुला सबै अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा दिन आवश्यक रहेको मन्त्री बस्नेतले बताए । उनले अहिले दरबन्दी सृजना गरे अनुसार सुविधा विस्तार गर्न सके स्वास्थ्यमा मुलुकले फड्को मार्ने दाबी गरे ।