बालकुमारी आन्दोलनमा दुई युवाको मृत्यु, किन भयो आन्दोलन ?

काठमाडौँ । बालकुमारी घटनामा घाइते भएका दुई युवाको मृत्यु भएको छ ।  कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

यस अघि २२ बर्षिय युवा सुजन रावतको मुत्यु भएको थियो। प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए । सो घटनामा ५० जना भन्दा बढी पक्राउ परेका छन् ।

किन भयो आन्दोलन ?

रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै युवाहरू आन्दोलनमा उत्रिएका हुन् । शुक्रबार बिहान ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरू भेला भएर आन्दोलन थालेका थिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । 

ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । तर त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

यो विषयमा उच्च अदालत पाटनमा  मुद्दा समेत दायर गरिएको थियो । जसमा सुरज पाठकसहित १८ जनालाई आवेदन फाराम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अन्तरिम आदेश जारी भएपछि ईपीएस कोरिया शाखाले आज फाराम भर्नका लागि कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो । तर १८ जना बाहेकलाई पनि प्रक्रियामा सहभागी गराउनुपर्ने माग राख्दै अरु युवा पनि आन्दोलनमा उत्रिएका हुन् ।

छानबिन समिति गठन 

यसैबीच बालकुमारी घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।  मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन् ।

मन्त्रालयले बालकुमारीस्थित ईपीएस कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर जम्मा भएका व्यक्तिहरुको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी तथा आर्थिक, भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ ।  यस अवस्थामा संयमता अपनाइ शान्ति कायम गर्न मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.