बलात्कारको अभियोगमा दोषी ठहर सन्दीपलाई सजाय कति ?

जिल्ला अदालतले सन्दीपलाई जबरजस्ती करणीमा दोषी ठहर गरे पनि कति वर्ष जेल सजाय गर्ने भन्नेबारे चाहिँ पुस २५ गतेमात्रै निर्णय हुनेछ । त्यसबेलासम्म लामिछाने पक्राउ पर्ने छैनन् । आखिर प्रश्न उठेको छ- अब सन्दीपले बलात्कारको अभियोगमा कति वर्ष जेल बस्नुपर्ला ? पीडितलाई कति रकम क्षतिपूर्ति बुझाउनुपर्ला ? कानूनले के भन्छ ?

काठमाडौं जिल्ला अदालतले मुलुकी अपराध संहिताको दफा, उपदफा नै उल्लेख गरेर अपराध किटान गरेको छ । कानुनका ती दफामा तोकिएको व्यवस्था अनुसार नै अब लामिछानेमाथि सजाय हुने छ । उनले पीडितलाई क्षतिपूर्तिसमेत भर्नुपर्ने कानूनी व्यवस्थालाई अदालतले सम्झाएको छ । शुक्रबार साँझ निर्णय सुनाउँदै काठमाडौं जिल्ला अदालतका कर्मचारीले भने, ‘परिवर्तित नाम गौशाला–२६ को जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी सन्दीप लामिछाने भएको जबरजस्ती करणी मुद्दामा ८ गतेदेखि लगातार सुनुवाइ भएर बहस भयो र फैसला आएको छ । पूर्णपाठ आउन बाँकी छ, ठहर खण्डको केही वाक्य म पढेर सुनाउन गइरहेको छु ।’

सन्दीप लामिछानेमाथि अब के–कति सजाय होला त ? यसको विश्लेषण गर्नुअघि काठमाडौं जिल्ला अदालतले गरेको फैसलाको ठहर खण्डमा के लेखिएको छ, त्यो पढौं –

ठहर खण्ड

परिवर्तित नाम गौशाला–२६ को जाहेरी दरखास्त, प्रतिवादी सन्दीप लामिछानेको वयान, परिवर्तित नाम गौशाला–२६, राजन राणा, बाबुकाजी थापा मगर, सबिन श्रेष्ठ, अनिष श्रेष्ठ, समीर पुरी, सन्तोष प्रसाद अधिकारी, लालबहादुर बानियाँ, सहजाद आलम र देव खनाल समेतले गरिदिएको घटना विवरण कागज तथा निजहरुको बकपत्र लगायत मिसिल संलग्न सीसीटीभी फुटेजबाट परिवर्तिन नाम गौशाला २६ तथा प्रतिवादी सन्दीप लामिछानेले काठमाडौंबाट नगरकोट गई, पुनः काठमाडौं आई पुनः काठमाडौं इनको एउटै कोटामा बसेको देखिन्छ । सो कुरामा बादी प्रतिवादीको विवाद रहेको समेत देखिँदैन ।

राति एउटै कोठामा बसेको अवस्था देखिएको, सो समयमा परिवर्तित नाम गौशाला–२६ ले करणी भएको भनेको र गौशाला–२६ तथा सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलाप र घटनाक्रम समेतलाई विचार गर्दा प्रतिवादी तथा परिवर्तित नाम गौशाला–२६ का वीचमा करणी भएको देखियो ।

….गाविस, नुवाकोटको बसाइँ सराइ दर्ता रजिष्टर, शंकरापुर नगरपालिका काठमाडौंको बसाइँ सराइ दर्ता किताब, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको डेलिभरी रजिष्टर, परिवर्तित नाम गौशाला–२६ को बकपत्र, … गाउँपालिका वडा नम्बर २ को कार्यालय, नुवाकोटको मिति २०८० भदौ ५ गते तथा मिति ०७९ कात्तिक २९ गतेको पत्र तथा सो साथ संलग्न प्रमाणसमेतबाट परिवर्तित नाम गौशाला–२६ को जन्ममिति २०६१ साल असार १८ मा भएको देखिई वारदात हुँदाका बखत निजको उमेर १८ वर्ष पुगिसकेको देखियो ।

१८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला–२६ को नाजुक आर्थिक अवस्था समेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भएको भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) ङ बमोजिमको कसुर गरेको ठहर्छ ।

सो संहिताको दफा २१९ (३) ‘घ’ बमोजिमको कसुर कायम गरी सजाय गरीपाउँ भन्ने अभियोग दाबी सो हदसम्म पुग्न सक्दैन ।
फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा ९ वमोजिम सजाय निर्धारण सुनुवाईका लागि मिति २०८० पुस २५ गते पेशी तोक्नू ।

सो मितिअगावै वादी प्रतिवादी तथा जाहेरवाला पक्षका कानून व्यवसायीबाट सजायको प्रतिवेदन तथा पीडितलाई भराउनुपर्ने क्षतिपूर्तिको रकम र सोको आधारसमेत पेश गर्न लगाउनू ।

सन्दीपमाथि आकर्षित हुने कानुन के हो ?

सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) ङ बमोजिमको कसुर गरेको ठहर्छ । दफा २१९ को उपदफा (१) ले भनेको छ, ‘कसैले जबरजस्ती करणी गर्न हुँदैन । त्यस्तै उपदफा (२) ले भनेको छ,‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै वालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा वालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ ।’

अब २१९ को उपदफा (३) को ‘ङ’ मा के छ, त्यो हेरौं । सो उपदफामा १८ वर्षभन्दा माथिको महिलालाई गरिएको करणीमा हुने सजायबारे उल्लेख गर्दै भनिएको छ, ‘१८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म (जेल सजाय) ।

मुलुकी संहिताको यो व्यवस्था र जिल्ला अदालतले तय गरेको कसुरको प्रकृति हेर्दा अब सन्दीप लामिछानेले घटीमा ७ वर्ष र बढीमा १० वर्ष जेल बस्नुपर्ने देखिन्छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.