धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर हटाएर किराती राजा यलम्बरको तस्बिर राखेका छन्। केन्द्र सरकारले धरानलाई उपेक्षा गरेको भन्दै उनले विरोध स्वरूप राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका हुन्।
धरानका राजनीतिक दलहरुले संयुक्त वक्तव्य जारी गर्दै मेयर साम्पाङको कदमप्रति आपत्ति जनाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले साम्पाङलाई निर्णय सच्याउन आग्रह गरेका छन्। उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर हटाएको भन्दै विरोध गरेका हुन्।
यसअघि बुधबार राति उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको तस्बिर राख्ने चेतावनी दिएका थिए । उनले लेखेका थिए– ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ’ जय देश !’
बुधबारै उनले अर्को स्टाटसमा लेखेका थिए, ‘लडेर प्राप्त गर्ने अवस्थालाई अधिकार भनिन्छ ! दयाले दिइएको त भिक्षा हो।’’