
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको पहिलो चौमासिक अवधिसम्म विकास खर्च न्यून रहेको पाइएको छ। चालु आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा प्रदेश सरकारको विकास खर्च विगत बर्ष भन्दा पनि न्यून रहेको पाइएको हो।
साउनदेखि कात्तिक महिनासम्म प्रदेश सरकारको पुँजीगत खर्च पाँच प्रतिशत मात्रै भएको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कूल खर्च पनि आठ प्रतिशत नाघ्न सकेको छैन् । चालु आर्थिक वर्षमा पूँजीगत बजेट १७ अर्ब ९४ करोड ३५ लाख ७२ हजार रहेकोमा ८९ करोड ४५ लाख ६० हजार मात्र खर्च गर्न सकेको छ। यो भनेको झन्डै पाँच प्रतिशत मात्र खर्च गर्न सकेको हो ।
प्रदेश सरकारको बजेट २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार छ। कात्तिकसम्म दुई अर्ब ४० करोड ४९ लाख अर्थात् झन्डै आठ प्रतिशत खर्च भएको छ । चालुतर्फको बजेट ११ अर्ब ९४ करोड ३५ लाख रहेकामा एक अर्ब ५१ करोड ३ लाख ९१ हजार अर्थात् झन्डै साढे १२ प्रतिशत छ। सुदूरपश्चिम सरकारले अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा साढे ६ प्रतिशत खर्च गर्न सकेको थियो।
