धनगढी । विवाहमा गएका कैलालीका एक युवकको सामुहिक कुटपिटबाट मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामुहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको हो।
सामुहिक कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको हो। कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल, सोनु साउद, चक्र कुँवर, अकेश कुँवर, नबिन केशी, रामलाल चौधरी र विशाल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
घेराघाटका डिल्ली कोइराकालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरुको समूहले कुटपिट गरेका थिए। उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो। अस्पतालले नेपालगञ्ज मेडिकल कलेज रेफर गरेको थियो। नेपालगञ्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो।