सुदूरपश्चिमका मौलिक गीतमा जमेकी ‘रोजी’

धनगढी । बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त छन्।

सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा चल्तीकी नृत्याङ्गना रोजीले २०७३ सालमा ‘सुदूरपश्चिम मेरा ढकमक्क फुली’को देउडा गीतबाट कला क्षेत्रमा डेब्यु गरेको थियो ।  उनले सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर एक सयभन्दा बढी देउडा तथा अन्य गीतमा अभिनय गरिसकेको बताइन। “अछामबाट अध्ययनका लागि काठमाडौँ पुग्दासम्म नृत्यलाई पछ्याइरहेँ”, रोजीले भनिन, “सानैदेखिको चाहना नै कलाकारितामा जम्ने थियो सोहीअनुसार अगाडि बढ्दै छु ।”

सुदूर र कर्णालीका जिल्लामा गाइने प्रचलित गीत देउडालगायत यहाँका लोकसंस्कृति झल्किने मौलिक गीतहरूको म्युजिक भिडियो बन्ने क्रम विगतभन्दा अधिक छ । पुराना पुस्ताका देउडा गायकदेखि अहिले युवा पुस्ताका कलाकार गीत–सङ्गीतका माध्यमबाट सुदूरपश्चिमको देउडा संस्कृति प्रवर्द्धन गर्न सक्रिय रहेको उनको भनाइ छ ।

अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययनरत रोजी अध्ययनमा पनि अब्बल विद्यार्थी हुन । “स्कुलमा कुनै कार्यक्रम भयो कि रोजीको खोजी भइहाल्थ्यो”, उनले भनिन, “कलाकारितामा अछामबाट त्यो बेला अगाडि आउनु सामाजिकरूपले पनि ठूलो चुनौती थियो ।” आफ्नो नृत्य र अभिनयप्रतिको रुचि र बुवा–आमाको प्रेरणाले नै यो क्षेत्रमा आएको उहाँको भनाइ छ ।

विगत चार वर्षयता ‘स्टेज’ कार्यक्रममा समेत सहभागी हुन थालेपछि अहिले उनको माग मुलुकभित्रका साथै भारतका विभिन्न सहरमा समेत बढ्दै गएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.