काठमाडौं। राजधानीमा एमाले निकट युवा संघ र दुुर्गा प्रसाईंले नेतृत्व गरेको धार्मिक महाअभियानको दुईवटा छुट्टाछुट्टै समूहले विरोध सभा र प्रदर्शन गर्ने भएपछि विहानैदेखि सुरक्षाकर्मीहरु परिचालित भएका छन्।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले क्रमश तीन कुुने र बल्खुमा छुट्टाछुट्टै कार्यक्रमका लागि सुरक्षाकर्मी परिचालित भएका हुन्।
युवा संघले प्रर्दशन नभएको र विरोध सभा मात्रै भएकाले सिधै तीनकुने आउन आग्रह गरेको छ भने प्रसाईंको समूहले विभिन्न आठ वटा रुट तय गरेर राजधानी नै अस्तव्यस्त बनाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ।
मेडिकल व्यवसायी प्रसाईं र प्रमुख प्रतिपक्ष दल आबद्ध नेकपा एमाले आबद्ध २३ संठनहरूले प्रदर्शनका कार्यक्रम राखेका छन्। यी दुई समूहबीच हुनसक्ने सम्भावित घटनालाई नियन्त्रण गरी सुरक्षा दिन सुरक्षा निकायले सडकमा उपस्थिति जनाएका हुन्। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र बहादुर खत्रीले सडकमा स्ट्राइकिङ फोर्स, रिजर्भ टोली, मोबाइल टोली तम्तयार अवस्थामा राखेको जानकारी दिएका छन्।