
भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज भारत र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । भारत समूह चरणको शीर्ष स्थानमा र न्यूजिल्याण्ड चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका हुन् ।
खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । जारी विश्वकपमा भारत अपराजित टोली हो । न्युजिल्याण्डले नौ मध्ये पाँच खेल जितेर चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । चार वर्ष अगाडिको विश्वकपमा भारत सेमिफाइनलमै रोकिएको थियो । त्यो पनि न्युजिल्यान्डसँग हारेर । त्यस्तै सन् २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि न्युजिल्यान्डले भारतलाई हराएको थियो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलिया भोलि खेल्नेछन् । यो खेल पनि दिउँसो सवा २ बजे इडेन गार्डेनमा शुरु हुनेछ । नौमध्ये सात खेल जितेको दक्षिण अफ्रिका दोस्रो र नौ खेलमा सातवटा नै खेल जितेको अष्ट्रेलिया रनरेटका आधारमा तेस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । फाइनलमा पुग्ने २ टोलीले उपाधिका लागि नोभेम्बर १९ अर्थात् मंसिर ३ गते आइतवार खेल्नेछन् ।
