भूकम्प पीडितलाई कसको कति आर्थिक सहयोग

धनगढी । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी १५७ जनाको ज्यान जानुका साथै सयौं घाइते उपचाररत छन्। भूकम्पमा परी मृत्यु भएका घाइते तथा आपतमा परेकाको उद्वार, उपचार, परिवारलाई आवश्यक राहत तथा सहयोगका लागि सरकार, राजनीतिक दल लगायत विभिन्न सङ्घ–संस्थाहरुले पीडितका लागि सहयोग रकम घोषणा गरेका छन् ।   

सरकारद्वारा जाजरकोट र रुकुम पश्चिममा पाँच-पाँच करोड 

सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्नेगरी जाजरकोट र रुकुमपश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच-पाँच करोड राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पठाउने निर्णय गरेको छ ।शनिबार गृह मन्त्रालयमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्प पीडितको उद्वार, उपचार र राहतबारे आवश्यक निर्णय दिन बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेश : एक करोड

सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावितको राहत तथा उपचारका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको शनिबार बसेको आपतकालीन मन्त्रिपरिषद् बैठकले सो सहयोग रकम कर्णाली प्रदेश सरकारलाई पठाउने निर्णय गरेको हो ।

कोशी प्रदेश : एक करोड

यसैगरी, कोशी प्रदेश सरकारले भूकम्प प्रभावितको राहत तथा उपचारका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहयोग रकम कर्णाली प्रदेश सरकारलाई पठाउने निर्णय गरेको हो । 

लुम्बिनी प्रदेश : एक करोड ५० लाख

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि एक करोड ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारको बैठकले सो निर्णय गरेको हो । 

बागमती प्रदेश : एक करोड ५० लाख

यस्तै, बागमती प्रदेश सरकारले कर्णाली प्रदेशको विभिन्न जिल्लाका भूकम्प प्रभावित नागरिकको उद्वार तथा राहतका लागि एक करोड ५० लाख रुपियाँ सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।  

एनसेल : ५० लाख

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले भूक्म्पपीडित राहत कोषमा ५० लाख सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहत कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको छ । यसैगरी, एनसेलले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको भ्वाइस र डाटा निःशुल्क गर्ने निर्णय पनि गरेको छ ।

नेपाली कांग्रेस : ५० लाख

नेपाली कांग्रेसले भूकम्प पीडितको उद्वार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । यससँगै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल जारी गरेको छ ।

राष्ट्रिय समन्वय परिषद् जापान :  १४ लाख

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पीडितको राहत र उद्वारका लागि करिब १४ लाख (१५ लाख येन) आर्थिक सहयोग गर्ने भएको छ । परिषद्ले ‘भूकम्प पीडित राहत सङ्कलन अभियान’ पनि सञ्चालन गर्ने भएको छ । 

भाटभटेनी : १ करोड ११ लाख ११ हजार १११
भाटभटेनी सुपरमार्केटले भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विपदमा परेका नागरिकको उद्धारका लागि सो रकम सहयोगको घोषणा गर्नुभएको हो । 
सहयोग जुट्नेक्रम जारी 
यसैगरी जाजरकोट र रुकुमपश्चिममा परेको भूकम्पको असरबाट पीडितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी रहेको छ । आज शनिबार माथिको विवरणअनुसार आर्थिक सहयोग जुटे पनि भोलिसम्म थप आर्थिक सहयोगको घोषणा हुने अनुमान गरिएको छ । नेपाली कांग्रेसले आफ्नो दलको तर्फबाट आर्थिक सहयोगको प्याकेज घोषणा गरे पनि अन्य दलको आर्थिक सहयोग आधिकारिक रुपमा घोषणा भइसकेको छैन ।
भोलि आइतबारसम्म थप आर्थिक सहयोगको घोषणा हुनेक्रम जारी रहने विश्वास सरकार तथा सरोकारवाला पक्षले गरेका छन् ।
adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.