कञ्चनपुर। नेकपा (एमाले)का सचिव लेखराज भट्टले पाटीभित्र देखिएको अन्तरविरोध हटाउन सिस्नुपानी दलेपनि उस्तै रहेको औल्याएका छन । एमाले कञ्चनपुरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पार्टी सचिव भट्टले पाटीभित्र नेता कार्यकर्ताहरुविच देखिएको अन्तरविरोध उस्तै रहेको औल्याएका हुन ।
‘हामीभित्रको अन्तरद्वन्द्व हटाउन गएको बैशाख १ गते धनगढीमा पाटी उपाध्यक्ष विष्णु पौडेल ज्यूकै उपस्थितिमा हामीभित्र रहेको विष हटाउन सिस्नुपानी दलेका थियौँ, ‘उनले भने, ‘उता हामीले सिस्नुपानी दलेर एक आपसको विष हटाउने वाचा गर्यौँ, यतातिर पार्टी कार्यालयलाई रणभूमि बनाईरहेका छौँ ।’
अझैपनि पाटीभित्र नयाँ पुराना नेता कार्यकर्ताविच विभेद देखिएकाले हटाउनुको विकल्प नभएको समेत उनले औल्याएका छन । यसैगरी पार्टीका पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर जिल्ला इन्चार्ज नारदमुनि रानाले आफु जिल्ला इन्चार्जको जिम्मेदारीमा आएको बेलादेखि नै जिल्लाका कैंयौं नेता कार्यकर्ता हरुको सहयोग नपाएकोले आगामी दिनहरुमा सहयोग पाउने विश्वास ब्यक्त गरे।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पाल, प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसी, केन्द्रीय सदस्य कमला बोहरा, जनप्रतिनिधिका तर्फबाट शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महरा, तारालामा तामाङ, नेकपा-माओवादी केन्द्रका नेता देवेन्द्र ढुंगाना, राष्ट्रिय जनमोर्चाका नेता रामबहादुर कार्की, कर्मचारीका तर्फबाट प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद घिमिरे लगायतले शुभकामना दिएका थिए ।