सर्बसधारणको दसैँ हर्षोल्लासमय बन्न सकेन

कावासोती । नेपालीको महान चाड दसैँ विगतजस्तो हर्षोल्लास हुन नसकेको सर्बसाधारण जनसमुदायको भनाइ छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो ।

खर्चिलो दसैँ बन्नेगरेको विगतको तुलनामा यस वर्ष आर्थिक अभावका कारण गर्जो टर्नेगरी मात्र दसैँ मनाउनुपरेको व्यवसायीहरु बताउँछन् । दसैँमा बजार चलायमान हुने अनुमान गरिएको भए पनि त्यसो हुन नसकेको व्यवसायी दिनेस चापागाइले बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँमा खासै उत्साह देखिएन, यसको कारण आर्थिक मन्दी र युवा जनशक्तिको पलायन हो, क्रय शक्ति नहुँदा समग्र पर्व प्रभावित बन्यो ।”

दसैँमा व्यापार व्यवसाय मात्र नभइ मासुको अधिक प्रयोग हुने दसैँमा खसी, बोका, च्याङ्ग्रा, कुखुरा नबिकेको उहाँले बताउनुभयो । हुप्सेकोट गाउँपालिका –४ झ्यालबासमा लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले चलाएको खसीबोका सङ्कलन तथा विक्री केन्द्रमा किनमेलको चहल पहल देखिएको भए पनि सोचेअनुसार व्यापार नभएको लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाको व्यवस्थापक शुसिला परियारले बताउनुभयो । 

दसैँलाई लक्षितगरी घटस्थापनापछि विक्री सुरु गरिएकोमा दसैँ सकिदासम्म तीन सयमात्र खसीबोका विक्री भएकोे व्यवस्थापक परियारले बताउनुभयो । असोज २९ गतेदेखि खसीबोका सङ्कलन र विक्री सुरु गरेका थियौं, उहाँले भन्नुभयो, “यो दसैँमा एक हजार बढी खसीबोका बिक्री हुने अनुमान गरेका थियौँ ।” तर तीन सयमात्र विक्री भयो ।”  किसानले पालेको खसीबोका सहकारीले सङ्कलन गरी ज्युँदो प्रतिकिलो पाँचसय ६० रुपियाँका दरले बेच्ने गरिएको छ । किसानले ल्याएको खसीबोका सहकारीमार्फत विक्री गर्दा किसानहरू ठगिनु नपरेको स्थानीय सर्मिला विश्वकर्माले बताउनुभयो ।

लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत बाह्रै महिना खसीबोका सङ्कलन र विक्री गरिने भए पनि चाडपर्वलाई लक्षितगरी किसानले बढी खसी बोका ल्याउने र चाडपर्वमै बढी विक्री हुनेगरेको व्यवस्थापक परियारले बताउनुभयो । आर्थिक मन्दीका कारण दशैँ उत्साहजनक बन्न नसकेको अर्का व्यापारी हरि सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक रुपमा कमजोर भएको अवस्थामा बजारको महङ्गीका कारण बाँच्न मुस्किल छ, कसरी दसैँ उमङ्ग हुन्छ ?”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.