काठमाडौं । अपाङ्गता भएका ब्यक्तिहरुले खेल्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाउनुभएको छ ।चीनको होङजाउमा जारी एसियाली पारा खेलकुदमा पलेशाले महिला के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै इतिहास रच्नुभयो ।
पलेशाले एसियाली पारा खेलकुदमा जितेको काँस्य पदक उनको मात्र नभई नेपालकै लागि पनि अहिलेसम्म पहिलो र एक मात्र पदक हो ।नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करण चीनको ग्वाङझावमा सन् २०१० मा भएको थियो । तेक्वान्दो भने यसै [चौथो] संस्करणदेखि मात्र समावेश गरिएको हो ।
चीनको हाङझावस्थित एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई १४–१ अङ्कले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्नुभएको थियो। सेमिफाइनलमा भने पलेशा काजाकिस्तानकी कामिल्या दास्मोलोभासँग १६–१० ले चुक्नुभयो। सेमिफाइनलमा पराजित भएपनि पलेशाले रिपेचेज चरणमा खेल्न पाउने अवसर थियो । रिपेचेज चरणको पहिलो कांस्य पदक भिडन्तमा पलेशाले बाइ पाएपछि काँस्य पदक निश्चित भएको पलेशाका प्रशिक्षक कविराज नेगी लामाले जनाउनुभयो ।
पलेशाको स्पर्धामा नेपालसहित चीन, काजाकिस्तान र इरान गरी ४ राष्ट्र ५ खेलाडी सहभागी थिए । फाइनलमा इरानकी रोजा इब्राहिमीले काजाकिस्तानकी कमिल्यालाई ३४–१५ ले पाखा लगाउदै स्वर्ण चुम्नुभयो।