राष्ट्रपतिबाट आममाफी पाएको २५ दिनमै लोकबहादुरले गरे अर्को हत्या

धनगढी। राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएको २५ दिनमै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ९ सिम्लीका ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले एक महिलाको हत्या गरेका छन् । विकले मंगलबार मुसीकोट नगरपालिका– ७ साँखकी २८ वर्षीया भावना विकको खलंगाको सत्कार होटेलमा हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले विकलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उनी बहुविवाहको मुद्दामा दोषी करार भएका र आधाभन्दा बढी कैद भुक्तान गरेपछि गत ३ असोजमा संविधान दिवसका अवसरमा कारागारमुक्त भएका थिए । आगामी १९ माघमा कैदमुक्त हुुनुपर्ने उनलाई सात महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएको थियो । कैद भुक्तान गर्न तीन महिना २३ दिन बाँकी रहँदै कैदमुक्त भएका लोकहादुरले कारागारबाट निस्केको २५ दिनपछि महिलाको हत्या गरेका हुन् ।

मंगलबार बिहान खलंगाको सत्कार होटेलको १ नम्बर कोठामा भावनाको शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा लोकबहादुरको संलग्नता खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । ‘उनीहरूबीचको कल डिटेल र होटेलमा कोठा लिँदा उल्लेख गरेको मोबाइल नम्बरबाट लोकबहादुरको घटनामा संलग्नता खुलेको हो,’ डिएसपी भट्टराईले भने ।

लोकबहादुरले भावनाको हत्या गरेको स्वीकार गरेको उनले जानकारी दिए । भावनाले होटेलमा कोठा लिएको र त्यसमा आफ्नो श्रीमान् भनी विकास केसीको नाम उल्लेख गरेको, तर नम्बर भने लोकबहादुरको राखेकी थिइन् । नाम झुटो लेखे पनि मोबाइल नम्बर भने सत्य उल्लेख गरेको डिएसपी भट्टराईले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.