काठमाडौं । इजरायलबाट २५३ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरू इजरायल गएका थिए ।
उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए। ‘इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरूलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएको छ । जसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गरेकोमा दुई सय ५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ ।’
परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिएका छन् । यस घटनामा परी चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्किएको, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनुभएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेको मन्त्री साउदले जानकारी दिए। यस्तै, आक्रमणमा परी सम्पर्कबिहीन हुनुभएका विपिन जोशीको खोजी निरन्तर जारी रहेको भन्दै उनले भने, ‘यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौँ ।’
इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरूको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए। आजै उद्धार गरी नेपाल ल्याइएका नागरिकहरूलाई विभिन्न गन्तव्यमा पुर्याउनका लागि विमानस्थलमा नेपाल प्रहरी तीन वटा बसहरू तयारी अवस्थामा राखिएको थियो ।