एमाले सुदूरपश्चिममा भाडभैलो: निर्वाचनबाटै नेतृत्व चयन गर्न माग

धनगढी । सहमतिको नाममा निर्वाचन समितिले उम्मेदवारी फिर्ताको समय सारेको सार्‍यै गरेपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व निर्वाचनबाटै हुनुपर्ने भन्दै उम्मेदवारहरूले ध्यानाकर्षण गराएका छन् । अध्यक्षका उम्मेदवार भरत साउद, सचिवका उम्मेदवार रतनराज रेग्मी र उपसचिवका उम्मेदवार नरबहादुर विकले संयुक्तरुपमा वक्तव्य जारी गर्दै मतदानबाटै नेतृत्व चयन गर्नुपर्ने माग गरेका हुन्। 

उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भइसकेको अवस्थामा सहमतिको नाममा नामावलीमै नभएका व्यक्तिलाई समावेश गरिएको उल्लेख गर्दै उनीहरुले आपत्ति जनाएका छन् । उम्मेदवारहरूसँग कुनै छलफल नै नगरी सार्वजनिक र घोषणा हुने कुनै पनि गतिविधि आफूहरुलाई मान्य नहुने उनीहरूको भनाइ छ ।

‘कार्यकर्ताले आफ्नो अभिमत प्रकट गर्ने वातावरण निर्माण गर्नका लागि कमरेडहरूको ध्यानाकर्षण गराउनु चाहन्छौं,’ अधिवेशनका अध्यक्ष मण्डलका अध्यक्ष र एमाले सुदूरपश्चिम नेतृत्वलाई लेखेको पत्रमा उल्लेख छ । एमाले नेताहरूले भने अध्यक्ष केपी ओलीको निर्देशन अनुसार सहमतिमै नेतृत्व चयन गर्ने गरी छलफल गरिरहेको बताएका छन् । जसका कारण निर्वाचन प्रक्रिया लम्बिरहेको छ ।

अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी खाका बनाएर त्यसैमा सहमति भएको भनी नेतृत्व घोषणा गर्ने तयारी गरिरहेका बेलामा अरु उम्मेदवारहरूले निर्वाचन समितिको ध्यानाकर्षण गराएका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउँदले अहिलेसम्म उम्मेदवारी फिर्ता लिएका छैनन् । साउँदले चुनाव गर्नुपर्ने माग गरिरहेका छन् भने अरुले औपचारिक रुपमा वक्तव्य जारी गरेका छैनन् । उपाध्यक्षतर्फ पनि हजारीसिंह साउँदले उम्मेदवारी फिर्ता लिए पनि कालीबहादुर शाहीसहितका पाँच जनाको उम्मेदवारी यथावत छ ।

यस्तै, सचिवमा उम्मेदवारी दिएका जीवन बमले फिर्ता लिएका छन् भने राजेश खाती र रतनबहादुर रेग्मीको उम्मेदवारी कायमै छ ।उपसचिवमा पल्लभराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन् भने अन्यको उम्मेदवारी कायमै छ । सहमति नभएपछि निर्वाचनि समितिले उम्मेदवारी फिर्ताको समय सारेको सार्‍यै छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.