चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।
महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो । नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।
महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । यसअघि नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो ।
नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए ।