टीकापुर घटनाका सबै कैदी बन्दी रिहा

धनगढी। टीकापुर घटनाका सबै कैदी बन्दी रिहा भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि रिहा हुन बाँकी रहेका चार जना सबै रिहा भएका हुन । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार उनीहरूको बाँकी कैद माफ गरिएको हो ।

रिहा हुनेमा जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी, लट्कनियाका प्रदीप चौधरी र टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी रहेका छन् । यसै गरी, तत्कालीन अवस्थामा नाबालक रही पोखरा सुधार गृह पुर्‍याइएका लट्कनियाकै श्रवणकुमार चौधरीलाई पनि रिहा भएको प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले जानकारी दिनुभयो । तीन जना कैलाली जिल्ला कारागारबाट र एक जना पोखराबाट रिहा भएका हुन ।

कैलाली जिल्ला कारागारबाट रिहा भएका कैदीहरूको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् मन्त्री रन्जिता श्रेष्ठ, सो पार्टीका संरक्षक रेसम चौधरी, सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, अरुणकुमार चौधरी, प्रदेश सभा सदस्यहरू लगायतले अबिर, खादा लगाएर स्वागत गर्नु भएको थियो । 

टीकापुर घटनाको मुख्य योजनाकार भनी दोषी ठहर गरिएका रेसमलाल चौधरीलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा कैदमुक्त गरिएको थियो । संविधान निर्माणको क्रममा भएको थरुहट-थारु वान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुर घट्ना घटेको थियो । घट्नामा आठ सुरक्षाकर्मीसहित एक बालकको ज्यान गएको थियो । 

सो घटना मुद्दामा प्रहरीले २७ जनालाई पक्राउ गरेर कर्तव्य ज्यान, डाँका चोरी र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो । मुद्दा चलाइएकामध्ये कैयौँ वर्ष जेल बसिसकेपछि राम नरेश चौधरी, नुरुल जागा, विश्राम कुश्मीले कैलाली जिल्ला अदालत र विश्राम चौधरी, सीताराम चौधरी, गङ्गाराम चौधरीले उच्च अदालत दिपायलबाट सफाइ पाएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.