धनगढी । एसिया कपको उद्धघाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग नेपाल भिड्दै छ। नेपाल र पाकिस्ताानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा मुल्तान क्रिकेट रंगशालामा हुनेछ।
नेपालले पहिलो पटक विश्वको आईसीसी ओडिआई वरियताको शीर्ष स्थानको टोलीविरुद्ध खेल्दै छ। पाकिस्तान ओडिआई वरियता शीर्ष एक नम्बरमा र नेपाल १५ औं स्थानमा छ। पाकिस्तानविरुद्धको खेल नेपालका लागि एसिया कप डेब्यु खेल समेत रहने छ। गत बैशाखमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो।
यसैवीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जितको शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गरेका हुन् ।
शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताएका छन् ।