गाेरखा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टहरुको धम्कीबाट नडराउने बताएका छन्। बरु सरकार छाड्ने, तर भ्रष्टहरुको धम्कीकै कारण सुशासनको अभियान कुनै हालतमा नरोकिने श्रेष्ठले उल्लेख गरे।
सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको श्रेष्ठको भनाइ छ। गोरखाको अजिरकोट गाउँपालिका-२ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पताल’को शुक्रबार उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने बताए। अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने उनको भनाइ छ।
‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौं। जुन दिनसम्म सरकारमा रहन्छौं, यो सुशासनको अभियान रोकिँदैन,’ श्रेष्ठले भने। नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी श्रेष्ठले उल्लेख गरे।
राजनीतिक परिवर्तनलाई सामाजिक-आर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुल ध्येय पनि यही रहेको उनले बताए।