फेसबुक लगायतका सञ्जालको विज्ञापनमा विश्वास नगर्न आग्रह

काठमाण्डाै । वैदेशिक रोजगार विभागले सामाजिक सञ्जालमा आएका युरोप रोजगारीको विज्ञापनमा विश्वास नगर्न आमनागरिकलाई सचेत गराएको छ । विभागले पछिल्लो समय युरोप रोजगारीका नाममा फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतबाट भ्रामक विज्ञापन गरी ठगी गर्ने क्रम बढेको भन्दै यसरी आउने विज्ञापनमा विश्वास नगर्न विभागले जनाएको हाे । 

विभागले विज्ञप्तिमार्फत युरोपका देश रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्बानिया र क्यानडा जस्ता देशमा काम गर्ने भिसामा पठाइदिने भन्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने र ठगी गर्ने क्रम बढेका प्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

विभिन्न भ्रामक विज्ञापनमार्फत युरोपमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति वा प्रयोग गर्ने सामाजिक संस्थालाई कानुन अनुसार कारबाहीका लागि खोजी गर्ने कार्य भइरहेको भन्दै  विभागका निर्देशक कविराज उप्रेतीले विदेशबाट ल्याएको काम सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट प्रमाणीकरण गराउन पर्ने बताए । 

दूतावासबाट प्रमाणीकरण भएका मागमा विभागबाट पूर्वस्वीकृति लिएपछि मात्रै राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्न पाइन्छ तर पछिल्लो समय युरोपका देशमा कामको अवसर भएका भ्रामक विज्ञापन सामाजिक सञ्जालमार्फत कुनै अनुमतिबिनै गर्ने गरिएकाले भ्रम फैलाउने व्यक्तिलाई वैदेशिक रोजगार ऐन अनुसार कारबाही गरिने उनको भनाइ छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.