काठमाण्डाै । ५२ लाख ७५ हजार नक्कली नोटसहित प्रहरीले नौ जना पक्राउ गरेकाे छ । काठमाडौं प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी काठमाण्डाै र भक्तपुरबाट उनीहरुलाई पक्राउ गरेकाे बताएकाे हाे ।
साउन २५ गते बिहीबार लु १ प ५ नम्बरको पर्यटक बसलाई नागढुङ्गा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामा केही नक्कली नोट बरामद गरिएको र त्यसपछि सो बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपियाँ हजार दरका नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट सो नक्कली नोट बरामद गरिएको थियो । सो नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली छन् । उनीहरुलाई मुद्रा कसुर अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।