माओवादीले पार्टीका सबै कमिटीमा प्रचार सेलको व्यवस्था गर्ने

धनगढी । पार्टी नीति, निर्णय र कामहरु सार्वजनिक गर्न नेकपा माओवादी केन्द्रले पार्टीका सबै कमिटीमा प्रचार सेलको व्यवस्था गर्ने भएकाे छ । राजधानीमा आइतबार सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको प्रतिरक्षामा जोड दिन यस्ताे प्रचार सेलको व्यवस्था गर्ने निर्णय गरेकाे हाे ।

माओवादीले प्रचार तथा प्रकाशनसम्बन्धीको कामलाई व्यवस्थित बनाउन पार्टीको जनसङ्गठनका रूपमा रहने गरी व्यावसायिक सङ्गठनको ढाँचामा आइसिटी फोरम नेपाल बनाएर केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको संरचना बनाउने भएको छ। आगामी भदौ मसान्तसम्म आइसिटी फोरम नेपालको केन्द्रीय भेला गरी सम्मेलन आयोजक समिति गठन गरिनेछ। यसैगरी पार्टीको वेबसाइट निर्माण गरी तीन महिने अभियानका सबै गतिविधि ‘अपडेट’ गर्ने, सम्पादक, लेखक तथा समाचारदातासँग केन्द्रीयस्तरमा नियमित अन्तरक्रिया, स्थानीयस्तरमा सञ्चारकर्मीसँग भेटघाट गर्ने माओवादीले जनाएको छ।

पार्टी केन्द्रीय सदस्यलगायत सबै तहका कमिटी र सदस्यले फेसबुक, ट्विटर र टिकटकलगायत सामाजिक सञ्जालका ‘एकाउन्ट’ बनाउनुपर्ने, पार्टीका सबै कमिटीमा प्रचार सेलको व्यवस्था गर्ने, पार्टीको नीति र नेतृत्वको विरूद्ध सार्वजनिक टिप्पणी गर्ने कुरालाई निरूत्साहित गर्ने माओवादीको नीति छ। सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ।

स्टाटस वा पोष्ट लेख्दा सभ्य र मर्यादित भाषाको प्रयोग गर्नुपर्ने, अरूको आलोचना र नकारात्मक टिप्पणीभन्दा आफ्ना नीति र उपलब्धिको प्रचारमा जोड दिनुपर्ने माओवादीले जनाएको छ। यस्तै पार्टी केन्द्रीय कार्यालय र प्रधानमन्त्रीको सचिवालयले उत्पादन गरी पठाएका प्रचार सामग्री (स्टाटस, अडियो, भिडियो, ग्राफिक्स डिजाइन) प्रत्येक केन्द्रीय सदस्यले अनिवार्य पोष्ट गर्नुपर्ने माओवादीको निर्णय छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.