काठमाडौ । ४० हजार विधालयका राहत शिक्षक र उच्चमाविमा रहेका चार हजार बढी अनुदान प्रध्यापक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव विद्यालय शिक्षासम्बन्धी विधेयकमा गरिएको छ।
मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले विधेयक समितिबाट पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ। याे विधेयक पास भएपछि छयालीस हजार राहत तथा अनुदान शिक्षक दरबन्दीमा परिणत हुने छन् ।सो विधेयक अझै सार्वजनिक भने भएको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च स्रोतले विधेयकमा राहत शिक्षक कोटालाई दरबन्दीमा परिणत गर्ने प्रस्ताव गरिएको जानकारी दिएको छ।
साविकको उच्च माध्यमिक विद्यालय (कक्षा ११/१२) को चार हजार अनुदानलाई पनि दरबन्दीमा परिणत गर्ने प्रस्ताव विधेयकमा गरिएको छ। सो तहमा दुई हजार दरबन्दी र चार हजार अनुदानमा अस्थायी रूपमा शिक्षक व्यवस्थापन गरिएको छ। मस्यौदा अनुसार अब शिक्षक व्यवस्थापन स्थानीय तहमा हस्तान्तरण हुने छ। शिक्षक छनोट शिक्षक सेवा आयोगले गरे पनि नियुक्ति, सरुवा, बढुवालगायतका व्यवस्थापन स्थानीय तहमा हस्तान्तण गरिने छ।
हाल शिक्षा विकास तथा समन्वय एकाइ (साबिकको जिल्ला शिक्षा कार्यालय) ले शिक्षक नियुक्ति गर्दै आएको छ। विधेयकमा नियुक्तिको जिम्मा स्थानीय तहलाई नै दिने प्रस्ताव गरिएको छ। विधेयकमा शिक्षकको सेवा, सर्त र सुविधा निजामती कर्मचारीसरह हुने स्पष्ट गरिएको छ। शिक्षकले योगदानमा आधारित उपदान पाउने व्यवस्था रहने छ।